समानुपातिक तर्फ पहिलो दल बनेको एमालेले २८ लाख ४५ हजार मत पाएको छ। यही अनुपातका आधारमा एमालेले ३४ समानुपातिक सांसद पाउने भएको छ। बन्दसूचीमा रहेको क्रमसंख्या अनुसार सांसद हुने भएपनि अल्पसंख्यक, पिछडिएको वर्ग र अपाङ्गता भएका व्यक्तिका हकमा सूचीमा रहेको क्रमसंख्या हेरफेर गर्न सकिन्छ।
३३ प्रतिशत महिला अनिवार्य हुनु पर्ने संवैधानिक व्यवस्था अनुसार ३१ जना महिला हुनुपर्छ। राष्ट्रिय सभामा अहिले एमालेका ९ जना महिला सांसद छन् भने यो पटकको निर्वाचनबाट ४ जना प्रत्यक्ष निर्वाचित भएर आएका छन्। राष्ट्रिय सभा र प्रतिनिधि सभामा गरि संघीय संसदमा एमालेका ९३ सांसद हुनआउँछ। अब एमालेले १७ जना महिला समानुपातिकबाट पूर्ति गर्नुपर्ने हुन्छ।
पाएको सिटबाट क्लष्टर अनुसार बाँडफाँट गर्ने हो भने दलित १३.८%, आदिवासी जनजाति २८.७%, मधेशी १५.३%, थारु ६.६%, मुस्लिम ४.४% र खस आर्य ३१.२% निर्वाचित भएको हुनुपर्छ। यी सबै क्लस्टरमा ५०% महिला अनिवार्य निर्वाचित गराउनुपर्ने हुन्छ।
जसअनुसार खस आर्यबाट १० जना चुनिनेमा ५ जना महिला अनिवार्य हुनुपर्छ।
एमालेले बुझाएको बन्दसूचीका आधारमा खस आर्य महिलातर्फ समानुपातिक सांसद बन्नेमा मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला छन्।
खस आर्यतर्फ पिछडिएको क्षेत्रको महिला राख्न चाहेमा भगिरथी कुमारी चन्द पनि सांसद हुनसक्छिन्।
खसआर्य पुरुषतर्फ भने रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल सांसद हुँदैछन्। खसआर्यतर्फ १ जना अपाङ्गता भएका व्यक्ति राखिए शम्भु प्रसाद गौतम पनि हुनसक्छन्।
दलिततर्फ महिलामा रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा र ईन्दिरा कुमारी पन्थी सुरुवाती सूचीमा छन्। दलिततर्फ पुरुष सांसद पनि छान्न चाहेमा ईश्वरबहादुर रिजाल(विक) र प्रभु हजारा दुसाध सांसद हुनसक्छन्।
आदिवासी जनजातीतर्फ १० जना चुनिनेछन्। जसमा महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर सांसद हुने लाइनमा छन्।
आदिवासी जनजाति पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास र सरोज डंगोल सांसद बन्ने सूचीमा छन्।
मधेसी क्लष्टरबाट चुनिनसक्ने ५ जनामा महिलाबाट विना देवी, अमृतादेवी अग्रहरी र प्रतीक्षा तिवारी मुखिया छन् भने पुरूषतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी छन्।
थारु क्लष्टरबाट महिलामा अस्माकुमारी चौधरी र पुरुषमा सत्यनारायण चौधरी छन्।
मुस्लिममा महिलाबाट रुही नाज र पुरुषबाट सराज अहमद फारुकी छन्। यी सबै क्लष्टरमा अपाङ्गता भएका र पिछडिएको वर्षलाई समावेश गराउन चाहे अग्रपंतीमा रहेकाहरु पर्नसक्छन्।