काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार देशभर एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन देशवासीलाई आह्वान गरेकी छिन्।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ का अवसरमा आज सन्देश दिँदै उनले मतदान गर्नु नागरिक अधिकारको उच्चतम् अभ्यास भएको बताएकी हुन्।
राष्ट्रपति भण्डारीले आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिक रूपले अभिव्यक्त गर्दै राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको यथार्थलाई व्यवहारमा प्रतिबिम्बित गर्ने बताइन्। जनताले निर्वाचित गरेका प्रतिनिधिबाट मुलुकको शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको उनको भनाइ छ।
राष्ट्रपतिले आमनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण कायम गरी सफल बनाउन निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक तथा सम्बद्ध सबैमा आह्वान गरेकी छिन्।