विर्तामोड। बुधवार साँझ एमाले नेता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र झापा क्षेत्र नं ३ का सत्ता गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको तस्बिर सार्वजनिक भयो।। यी तस्बिर अन्य समयमा भएको भए सायद कसैको ध्यान त्यति धेरै तानिने थिएन। तर आम निर्वाचनका लागि प्रचार प्रसारको एक दिन मात्र बाँकी रहँदा सार्वजनिक भएका केही थान तस्बिरले झापा क्षेत्र नं ३ को चुनावी परिणाममा हलचल ल्याउने भनेर चर्चा गरिँदैछ।
हुन पनि क्षेत्र नं ३ बाट एमालेको उम्मेदवार भनेर आफूलाई प्रचार गर्दै आएका प्रसाईँले टिकट पाएनन्। उक्त क्षेत्रमा एमालेले राप्रपाका राजेन्द्र लिङदेनलाई सघाउने निर्णय गर्यो। सोही कारण प्रसाईँ रुष्ट रहेको र लिङ्देनलाई हराउन चाहेको आरोप उनीमाथि रहँदै आएको छ। यहीबीच सिटौलासँगको भेटलाई धेरैले त्यही रुपमा अर्थ्याउन पनि खोजिरहेका छन्। तर खबरमञ्चले प्रसाईँनिकटसँग सम्पर्क गरेर यस विषयमा जानकारी लिँदा सिटौला बिएण्डसी अस्पतालमा उपचाररतलाई भेट्न पुगेका थिए। सोहीक्रममा प्रसाईँलाई भेटेर सिटौलाले उपचारमा सहजीकरण गरिदिन भनेका थिए।
यसैलाई लिएर प्रचारको समय सकिनै लाग्दा सिटौलानिकटका नेता कार्यकर्ताले झापा ३ को राजनीतिमा ट्वीस्ट आउने भनिरहेका छन्। तर बुधवारमात्र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी भएर झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस्ता गलत प्रचारका पछि नलाग्न र भ्रम चिर्ने गरि एमालेका र एमालेले सहयोग गरेका उम्मेदवारलाई जिताउन प्रचारमा लाग्न निर्देशन दिइसकेका छन्।
अन्तिम ब्याटल सिटौलालाई छैन सहज
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौला यतिबेला राजनीतिक जीवनको अन्तिम ब्याटल खेलिरहेका छन्। उनकै भाषामा यसपछि उनी चुनाव लड्नेछैनन्। तर अन्तिम ब्याटल उनका लागि सहज छैन।
त्यसो त राप्रपाका लिङ्देनका लागि पनि यसपटक अघिल्लो चुनावजस्तो सहज छैन्। किनकि, २०७४ सालमा एमालेको साथ पाएका लिङ्देनले बाम गठबन्धनका कारण माओवादीको पनि भोट पाएका थिए। तर यसपटक एमाले आफैं फुटेको छ भने माओवादी पनि कांग्रेससहितको गठबन्धनम छ। त्यसैले लिङ्देनका लागि यो चुनाव चुनौतीयुक्त छ।
तर माओवादी, एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीसहितको साथ पाएका सिटौलाका लागि पनि यो चुनाव सहज छैन। अझ भनौं झनै कठिन छ।
७७ वर्षे सिटौला पटक पटक सत्ता र शक्तिमा रहँदा विकासका काम नगरेको भन्ने आरोप उनी माथि छ।
अझ पछिल्लो समय जातीयता र धार्मिक कुराहरु गरेर उनले आफ्ना प्रतिष्पर्धी लिङ्देनविरुद्ध जे जस्ता प्रचार गरिरहेका छन्, त्यसले उनैलाई ब्याकफायर हुनसक्छ।
धर्मनिरपेक्षताका लागि लडेका सिटौलले हिन्दुराष्ट्र पक्षधरले भोट पाउने अवस्था छैन।
अझ पछिल्लो स्थानीय तह निर्वाचनमा मुस्लिम समुदायबाट निर्वाचित एकमात्र गाउँपालिका अध्यक्ष अन्जार आलमलाई गठबन्धन बनाएर हराएको, माओवादीका प्रदेश सभा सदस्य उम्मेदवारी पाउनबाट मर्गुव आलमलाई रोकेको लगायतका आरोपबीच यी समुदाय सिटौलासँग निकै रुष्ट देखिन्छन्।
तर यी भन्दा धेरै गएको स्थानीय निर्वाचनमा एमाले र राप्रपाका वडाध्क्षले यी क्षेत्रमा पाएको मतलाई आधार मान्दा भने लिङ्देन सहज ठाउँमा छन् ।
यसबाहेक पछिल्लो ५ वर्षमा झापा क्षेत्र नं ३ का लागि लिङ्देनको पहलमा भएका विकास निर्माणका कामले उनलाई फेरि जीतेर जान पाउने मार्ग खोलेको छ।
‘मेरो जग्गा गोलधापमा छ, पहिला पहिला त्यहाँसम्म पुगेर खेतबाली लगाएर फर्किन कम्ता गाह्रो हुन्थेन, ‘भद्रपुर बजारमा भेटिएका उसम पन्त भन्छन्,’अहिले त एकैछिनमा पुगिन्छ। त्यस्तो गाउँ गाउँमा पनि पीच सडक बन्न सक्ने रहेछ भनेर राजेन्द् र लिङ्देनले देखाए।’
झापा क्षेत्र नं ३ को अर्को ठूलो समस्या हात्ती थियो। रातपरेसँगै यहाँका जनता त्रासदीपूर्ण रात कटाउन बाध्य थिए। ‘साँझको के कुरा गर्नु, दिउँसै घरमा बालबच्चा छाडेर कतै जान डर लाग्थ्यो,’हल्दिवारीका भुमीनाथ घिमिरे भन्छन्,’राजेन्द्र दाईले जंगली हात्ती नियन्त्रणका लागि कार्यक्रम ल्याएपछि अहिले हामीले मजाले निधाउन पाउने भएका छौँ।’
के सिटौलाले केही गर्दै गरेनन् त भन्ने प्रश्नमा उनले भने,’ केही नगरेका त होइनन, संविधान बनाउन भूमिका खेले, गृहमन्त्री भए। तर त्यसले मात्र हामी जनतालाई के भयो? हाम्रा दु:ख, सुखमा साथ दिने नेता पनि त हामीले खोजेको हो, उहाँ देशको ठूलो नेता हो, तर हाम्रो सारथी बन्न सक्नु भएन कहिल्यै।’
पार्टीका तर्फबाट संसदमा एक्लै भएपनि लिङ्देनले उठाउने विषयले धेरैलाई प्रभावित पारेको छ। विशेषगरि, संसद र क्षेत्र दुवैतिर उनको उपस्थिति समान रहेको कुरालाई पनि धेरैले राम्रो पक्ष मानेका छन्।
‘धेरै नेता जितेर गएपछि कहिल्यै देखिन्न, तर लिङ्देनलाई संसदमा पनि देखिने, यता पनि देखिने,’ भद्रपुर १० की पद्मा लुचान अचम्म मान्दै भनिन्,’बिहान संसदमा बोलेको भनेर समाचारमा नाम आउथ्यो,साँझ फेरि यता । संसद हुँदा संसद, नहुँदा आफ्नै क्षेत्रमा देखिनुहुन्छ, हामीलाई गाह्रो साह्रो पर्दा पनि थाहा पाउन साथ सहयोग गर्न आउनुहुन्छ , हामीले खोजेको यस्तै जनप्रतिनिधि त हो।’
पद्मा अहिले कक्षा ११ मा पढ्छिन्, उनले नागरिकता नबनाएका कारण यसपटक भोट भने हाल्न पाउँदिनन्। तर उनले उनको परिवारलाई लिङ्देनबारे भनिरहेकी रहिछन्। ‘बुवा नभएका कारण मैले नागरिकता बनाउन पाएको छैन, अस्ति नागरिकता विधेयक पारित भएपछि बनाउँला भनेको थिएँ, तर भएन। त्यो विधेयकमा सबै कुरा समेटेको थिएन रे। मेरो बुवा कहाँ हुनुन्छ, हुनुन्छ-हुनुन्न किन भनिरहनु पर्ने? आमाले मेरो छोरी भनेपछि बन्नु पर्ने हैन? यतिका वर्ष त कुरेँ, अब केही समय कुर्छु, नयाँ सरकार बनेपछि समावेशी कानून बनाउँलान् नी त!,’ पद्मा भन्छिन्।






