झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र लिङ्देनले झापा ३ मा भएका विकासका काम आफूले गरेको भन्ने प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको प्रचार खारेज गरिदिएको दाबी गरेका छन् ।
झापाको भद्रपुरमा शनिवार पत्रकार सम्मेलन आयोजना गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले सिटौलाको प्रचार केवल दुस्प्रचार मात्र भएको बताए ।
झापाको क्षेत्र नं ३ मा भएका विकास निर्माणका काम सिटौलाले ‘मैले गरेको’ भन्ने प्रचार मतदातालाई झुक्याउनका लागि गरिएको प्रचार भएको लिङ्देनको आरोप थियो ।
केही दिन अघि आफ्नो क्षेत्रमा नेपाली कांग्रेसको नेतृत्वमा आदिवासी जनजाति महासंघको कार्यक्रममा आफूमाथि गम्भीर लाञ्छना लगाउने किसिमको प्रचार गरिएकाले त्यस्तो दुस्प्रचारप्रति नलाग्न मतदातसंग उनले आग्रह गरेका छन् ।
आफूलाई उक्त कार्यक्रममा बोलाइएको भनिए पनि कुनै पनि सूचना नआएको लिङ्देनले बताए ।
झापाको क्षेत्र नं ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।
सिटौलालाई सत्ता गठबन्धनका दलहरूको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेले समर्थन गरेको छ ।