काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् ।
शुक्रबार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् ।
उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताए । उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताए ।
अध्यक्ष लिङ्देनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । उनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे ।
आफूले पाँच वर्ष संसदमा खेलेको भूमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उनले आग्रह गरे ।