काठमाडौँ। नेपाल बार एशोसिएशनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनमार्फत अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्याएको बताएको छ ।
बारले बिहीबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा अख्तियारले दिएको अभिव्यक्ति आफूअनुकूल फैसला गराउनका लागि दबाब भएको आरोप लगाएको छ।
मंगलबार मात्र आयोगले पत्रकार सम्मेलन गरेर विशेष अदालतमा भएका फैसलामा चित्त बुझाउन सक्ने अवस्था नरहेकाले सर्वोच्चमा पुनरावदेन दिएको जानकारी गराएको थियो ।
आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी अदालतमा न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पु¥याउने कार्य गरेको निष्कर्ष रहेको बारको भनाई छ ।
अदालतको फैसला चित्त नबुझे सर्वोच्चमा पुनरावदेन दिन सकिने भएपनि संवैधानिक निकायले आफ्नो मुद्धा असफल भएकै आधारमा सिंगो न्यायपालिकामाथि प्रश्न उठाउनु गम्भीर विषय भएको विशेष अदालत बार एसोसिएसनका अध्यक्ष चुढामणी शर्मा पौडेलले बताए ।
आयोगले गत मंगलबार ‘चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका मुद्दाहरूमा आयोगको चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सम्बन्धमा पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम’ राखेको थियो । सो कार्यक्रममार्फत विशेष अदालतले फैसला गरेका १२४ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको जानकारी गराइएको थियो ।