झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी ‘मिसन १५०’को लक्ष्य राखेर चुनावमा होमिएको बताएका छन् ।
झापाको अर्जुनधारामा निर्मित सुखानी स्मृति पार्कमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै उनले जसरी पनि प्रतिनिधि सभामा आफ्ना जित्ने उम्मेदवारको संख्या १ सय ५० पुर्याउने हिसाबले चुनावमा होमिएको बताए ।
उनले भने, ‘प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा उपस्थित हाम्रा सांसदको संख्या हामीले राखेको लक्ष्य अनुरुप हुनुपर्छ भनेर हामी चुनावमा होमिएका हौं ।’
सुदूरपश्चिम प्रदेशदेखि चुनावी दौडाहा शुरु गरेका ओली मंगलबार साँझ गृहजिल्ला झापा आइपुगेका हुन् । उनी झापाको क्षेत्र नं ५ बाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।
जनताको पक्षमा काम गर्ने एमाले मात्र भएकाले एमालेका उम्मेदवारलाई मत दिन उनले मतदातासंग आग्रह गरे ।
झापाको क्षेत्र नं २ बाट सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरि रानाप्रति लक्षित गर्दै ओलीले ‘हाम्रै उम्मेदवार’ लगेको आरोप लगाए ।
उनले भने, ‘विचरो गठबन्धनले हाम्रै उम्मेदवार चोरेर लगेछ ।’
राना मनोनयन दर्ता गर्ने दिन एमाले छाडेर माओवादीको चुनाव चिह्नबाट चुनाव लड्न राजी भएपछि सत्ता गठबन्धनले उनलाई उम्मेदवार बनाएको हो । उनी एमालेका पूर्व नेता हुन् ।
ओलीले भने, ‘हाम्रो घरबाट एकजना हराए, कहाँ गए भनेर हेरेको त, गठबन्धनले कोही नपाएर च्याप्प समातेर उम्मेदवार पो बनाएछ ।’
सत्ता गठबन्धनमा उम्मेदवारको खडेरी परेको भए अरु उम्मेदवार पनि एमालेले दिने ओलीले बताए ।
ओली झापा २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेश सभाका उम्मेदवारद्वय चिन्तन पाठक र एकराज कार्कीलाई भोट मागिदिन मंगलबार साँझको कार्यक्रममा उपस्थित भएका थिए ।