काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत एक सहायक सूचकलाई कारबाही गर्न निर्देशन दिएको छ।
निर्वाचन आचारसंहितविपरित कार्य गरेको भन्दै आयोगले सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्देशन दिएको हो।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको प्रचारप्रसार गरेको पाइएको आयोगले जनाएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाइएको आयोगले बताएको छ।
निर्वाचन आयोगको ऐन, २०७३ मा ‘कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानुन वा आयोगले दिएको निर्देशनविपरित कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारीउपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानुनबमोजिम विभागी कारबाही लागि सम्बन्धित निकायमा लेखी पठाउने’ व्यवस्था छ।
त्यस्तै निर्वाचन आचारसंहितमा सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ।
‘प्रचलित सेवा शर्तसम्बन्धी कानुनबमोजिम अनुसन्धान तथा कारबाही गरी निर्वाचन आयोगे ऐन, २०७९ को दफा ४४ को उपदफा (३) बमोजिम तीन महिनाभित्र निजलाई भएको कारबाहीको जानकारी निर्वाचन आयोगलाई गराउन निर्णयानुसार अनुरोध छ,’ अनुसन्धान विभागलाई आयोगले पठाएको पत्रमा उल्लेख छ।