काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिका कामलाई अघि बढाउन सक्ने बताएका छन् ।
एमाले बागलुङले बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए ।
एमालेले मंसिर चारको निर्वाचनमा बहुमत प्राप्त गर्ने अध्यक्ष ओलीले दाबी गरे । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ । विकास गर्ने पार्टी एमाले मात्रै हो । यहाँका जनताका समस्या एमालेले बुझ्ने छ,” अध्यक्ष ओलीले भने ।
एमाले पार्टी एक ढिक्का भएको ओलीको भनाइ छ । पार्टी बिगार्न लागेकाहरु बाहिरीएको र एमालेमा अब कुनै गुट उपगुट नरहेकाले ढुक्क भएको टिप्पणी गरे । अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताए ।
“हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चढेर आएँ”, ओलीले भने ।