काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाएका छन् ।
बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।
ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाइदिएका थिए ।
टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए ।
उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।
उनले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र अहिलेको आवश्यक्ता भएको बताए ।