काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गरेका छन् ।
ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वाम गठबन्धन गर्दा आफूहरुले धोका पाएको बताएका हुन् ।
उनले भने, ‘मंसिर ४ को निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रवृत्ति र दुईवटा गठबन्धन आमनेसामने छन् । यो दुई गठबन्धनको उद्देश्य के छ र किन प्रतिस्पर्धा गर्दैछन् भन्नेर गम्भीरतापूर्वक बुझ्नुपर्छ । जनतालाई सच्चा गठबन्धनको पक्षमा ल्याउनुपर्छ ।’
१२बुँदे समझदारी गर्दा नेपालमा संविधान सम्भव छैन भन्ने नेताहरुसमेत रहेको उनको भनाइ छ ।
‘गणतन्त्र ल्याउनु र गोरुगाढा चढेर अमेरिका जानु एउटै हो भन्ने नेताहरु पनि थिए । हामीले बिर्सन हुँदैन । त्यो प्रवृत्ति थियो । गोरुगाढा प्रवृत्तिविरुद्ध आन्दोलन गरेर देश संघीयता र लोकतान्त्रिक गणतन्त्रमा गएको हो । समावेशी र समानुपातिक सिद्धान्तमा गइसकेपछि हिजो गोरुगाढावाला नेताहरु त बद्लिए भन्ने लागेको थियो । तर, होइन रहेछ’, उनले भने ।