झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका महान चाडहरूका विशेष महत्व रहेको बताएका छन्।
बडादसैं, शुभदिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा झापाको बिर्तामोडमा मंगलबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफूभन्दा ठूलाबाट आशिर्वाद लिने र सानालाई आशिर्वाद दिने चाड भएकाले दसैंको निकै ठूलो महत्व रहेको बताए ।
ओलीले उनको पनि गृहजिल्ला झापामा बर्षेनी महानवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।
हिन्दुधर्ममा महिलाहरूको विशेष महत्व रहेको तर कतिपय मन्त्रहरूलाई अर्कै अर्थ लगाइएको ओलीले बताए ।
चाडपर्वहरूले समाजलाई एकसुत्र बाँध्ने गरेकाले ती चाडपर्वका महत्व अतुलनीय रहेको ओलीले बताए ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन पनि उपस्थित थिए ।
राजनीतिक पार्टीका तर्फबाट जसपाका जिल्ला अध्यक्ष दिपेनबाला राई, राप्रपाका प्रवक्ता भक्ति सिटौला, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंलगायतले शुभकामना मन्तव्य राखेका थिए ।