झापा । प्रतिनिधिसभा एवम प्रदेशसभा सदस्य निर्वाचनका लागि झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
झापाका ५ वटा निर्वाचन क्षेत्रका लागि असोज १५ देखि २० गतेसम्ममा कार्यालय स्थापना गरिसक्ने जिल्ला निर्वाचन कार्यलय झापाले जनाएको छ । सबभन्दा पहिला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
राजनीतिक दल र पत्रकारहरुको उपस्थितिमा झापा जिल्ला समन्वय प्रमुख विश्वनाथ वरालले ब्यानर पढेर कार्यलयको उदघाटन गरे । सहजरुपमा निर्वाचन गराउन नगरपालिकाहरुसँग सहजीकरण गरेर झापाका लागि निर्वाचन क्षेत्र केन्द्रित कार्यलयको स्थापना गरिएको सहायक निर्वाचन अधिकृत बिरेन्द्र वस्नेतले बताए ।
२० गतेसम्म सम्पूर्ण तोकिएको क्षेत्रका लागि कार्यालय स्थापना गरि २२ गते सर्वदलीय बैठक बोलाइएको उनले बताए ।
असोज २३ गते विहान १० बजे देखि बेलुकी ५ बजेसम्म मनोनयनको दर्ताको लागि समय छुट्याइएकाले त्यसअघि नै निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिसक्नुपर्ने बाध्यकारी अवस्था छ ।
२३ गते मनोनयन दर्तापछि उम्मेदवारलाई २६ गते निर्वाचन चिन्ह उपलब्ध गराइने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । चाडवाडको बेला भएकाले निर्वाचन अधिकृतको अनुकूलतालाई मध्यनजर गरि निर्वाचन अधिकृतहरुको कार्यालय स्थापनाका लागि असोज २० गतेसम्मको समय तोकिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।
झापामा रहेका ५ वटा निर्वाचन क्षेत्रका लागि क्षेत्र १ का लागि मेचीनगर नगरपालिका, क्षेत्र २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नम्वर ३ मुख्य निर्वाचन कार्यालय र क्षेत्र नम्वर ४ को कार्यालय कनकाई नगरपालिकामा र क्षेत्र नं ५ का लागि दमक नगरपालिकामा कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यलय प्रमुख तुलसी नेपालले जानकारी दिए ।
मनोनयन पत्र दर्ता भएको उम्मेद्ववारको सूची प्रकाशन असोज २३ गते ५ वजे देखि ७ बजेसम्म गरिने भएकाले सम्पूर्ण उम्मेदवारहरुले मनोनयन दर्ता ५ बजे भित्र गरिसक्न निर्वाचन कार्यलयले आग्रह गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २६ गते १ बजेदेखि ३ बजेसम्ममा गरिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख नेपालले बताए ।