काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धनसँग जनतामा जाने कुनै स्पष्ट नीति तथा कार्यक्रम नभएको बताएका छन् ।
एमालेसँग मात्र विचार, दृष्टिकोण र सही घोषणापत्र रहेको दाबी गर्दै उनले त्यही आधारलाई समातेर तयार पारिएको घोषणापत्र लिए एमाले निर्वाचनमा होमिएको बताए ।
एमाले प्रदेश कमिटी लुम्बिनीको सल्लाहकार परिषद बैठकलाई सम्बोधन गर्दै पौडेलले भने, ‘सत्ता गठबन्धनसँग विचार, नीति र कार्यक्रम केही छैन । मुलुकको नेतृत्व गर्ने त्यसलाई निर्देशित गर्ने साझा घोषणापत्र समेत नभएको जनताले पत्याउने कुनै आधार छैन ।’
निर्वाचनमा सरकारले नेतृत्व एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको भनेर अगाडि सारिसकेको पौडेलको भनाइ छ ।
सत्ता गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरूले यी विषयहरू जनता सामु प्रष्ट पार्नुपर्ने बताए ।
सत्ता गठबन्धन केवल बाँडेर खाने दाउमा देखिएको बताउँदै एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश विरोधी गतिविधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरूलाई निर्देशन दिए ।