काठमाडौं । निर्वाचन आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनमा मतदान गर्ने प्रयोजनका लागि आयोगले आजदेखि अस्थायी मतदाता नामावली संकलन गर्न लागेको हो ।
अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभातर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार यस्ता मतदाताले प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ भने मतदान गर्न पाउने छैनन् ।
थुनुवा/कैदी निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिइ सञ्चालन भएको बृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।