काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्। दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरणको १५ दिनको समय गुज्रिँदासमेत राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्कृय भएको छ।
नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्नै पर्ने भनिकएको छ।
संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’
राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो । त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।
तर विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको विश्लेषण भएको छ।