काठमाडौं। नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पाउने संवैधानिक समय आज सकिँदैछ।
विधेयक प्रमाणीकरणका लागि पुगेको आज १५ दिन भएको छ।
संविधानअनुसार राष्ट्रपतिले आजसम्म नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्छ। सभामुख अग्निप्रसाद सापकोटाले गत भदौ २० गते नागरिकता विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाएका थिए।
दोस्रो पटक विधेयक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था संविधानको धारा ११३ को उपधारा ४ मा उल्लेख छ। संविधान अनुसार राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको पन्ध्र दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने व्यवस्था रहेको छ।
तर विधेयकमा असन्तुष्ट रहँदै आएकी राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगर्ने संकेत गरेकी छन्।