काठमाडौं। महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाभियोग प्रस्ताव टुंगोमा पुर्याउने तयारी गरेको छ।
आज बिहान ८ बजेदेखि सिंहदरबारमा जारी बैठक अहिले पनि जारी छ।
समितिले आज निलम्बित प्रधानन्यायाधीश राणालाई उनले दिएको बयानमा हस्ताक्षर गराउँदैछ। हस्ताक्षरपछि आजै पुरक बयान लिने तयारी समितिको रहेपनि लिने नलिनेमा सत्तापक्ष र प्रतिपक्ष मतभेद छ।
यद्यपि, सत्तापक्षले आज साँझसम्म प्रतिवेदन लेखेर निष्कर्षसमेत टुंगो लगाएर प्रतिनिधि सभाको भोलिको अन्तिम बैठकमा पेश गर्न चाहिरहेको छ। प्रतिनिधि सभाको अन्तिम बैठक भोलि दिउँसो १ बजे बस्दैछ।
राणाविरुद्धको महाभियोग पारित हुन दुईतिहाई मत आवश्यक हुन्छ। प्रमुख प्रतिपक्षी एमालेको साथ बिना प्रस्ताव पारित हुन असम्भव छ। तर चुनाव नजिकिँदै जाँदा विवादित छवि भएका राणालाई बोकेको सन्देश जानसक्ने भन्दै एमालेभित्रै पनि प्रस्ताव पारित हुनुपर्ने मत बढेको छ।