काठमाडौं। भारतीय सेनाको अग्निपथ कार्यक्रमअन्तर्गत गोर्खा सैनिकको भर्तीसम्बन्धी निर्णय चुनावअघि नहुने भएको छ।
बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भारतीय सेनामा गोर्खा सैनिकको भर्तीको विषय अहिलेलाई थाती राखिएको जानकारी दिइन्।
यो विषय अलि पछि कुरा गर्ने गरि होल्डमा राखिएको छ। सम्भवतः नयाँ सरकारले के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा अगाडि आउनेछ’, उनले भनिन्,‘नेपाल सरकारले यो विषयमा तत्काल छलफल अगाडि नढाउने कुरा भएको छ।’
उनले थाती राखेको विषय भएकाले कुनै निष्कर्षमा पुग्ने गरि छलफल गर्ने अवस्था नरहेको बताइन्।
नेपाल सरकारको निर्णय भनेको नै आगामी निर्वाचित सरकारले गर्ने रहेको उनले बताइन्। ‘तत्काल यसबारे छलफल र वार्ता अघि बढ्दैन। उहाँहरूको कुरा उहाँहरूले राख्नुभयो होला उहाँहरूको देशको कुरा राख्न पाउने नै हुनुभयो। यसबारेमा यो गरौँ त्यो गरौँ भन्नुभन्दा पनि नवनिर्वाचित सरकारले नै सबै राजनीतिक दलहरूसँग कुरा गरेर यस विषयलाई अगाडि बढाउँदा नै उपयुक्त हुन्छ भन्ने हो,ु उनले भनिन्।