काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’मा दलीय सहमति जुटाउन सिंहदरबारमा बसेको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा बसेको बैठक टुंगोमा नपुगि सकिएको हो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीसहित विधेयकमा सहमति जुटाउन गठित कार्यदल सदस्यहरु सहभागी थिए।
कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।
कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा विधेयकमाथिको दफावार छलफलमा सहमति नभएपछि कार्यदल बनाइएको थियो। कार्यदललाई बुधबार नै दिउँसो ४ बजेसम्म सहमति जुटाउने जिम्मेवारी दिइएको थियो । कार्यदलले सहमति जुटाउन नसकेपछि सर्वदलीय बैठक बसेको थियो।