काठमाडौं। चिनियाँ जन कांग्रेसका अध्यक्ष ली चाङ्सु आज नेपाल भ्रमणमा आउँदै छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका उनी तीनदिने भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी दिउँसो सवा ३ बजे नेपाल आइपुग्नेछन्।
सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा लीको नेपाल भ्रमणमा आउन लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै ली र सभामुख सापकोटाबीच द्विपक्षीय वार्ता हुनेछ। भेटमा केही समझदारी पत्रमा हस्ताक्षर हुनेसमेत बताइएको छ। आजनै लीको सम्मानमा सापकोटाले रात्रिभोज दिने कार्यक्रम पनि रहेको छ।
लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नेछन्। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि मंगलबारनै भेटवार्ता गर्नेछन्।
त्यस्तै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि संघीय संसद भवन परिसरमै बेग्लाबेग्लै भेटघाटको कार्यक्रम छ। उनीहरुसँग पनि मंगलबार नै भेट हुने तय भएको छ।
लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्।
सबै भेटघाट सकेर ली बिहीबार दक्षिण कोरिया प्रस्थान गर्नेछन्।