काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व प्रधानन्यायाधीशहरूलाई मण्डलेको संज्ञा दिएका छन् ।
महाभियोग सिफारिस समितिले आइतबार लिएको बयानका क्रममा उनले पूर्व प्रधानन्यायाधीशहरूलाई मण्डलेको संज्ञा दिएका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका थिए।
बयानका क्रममा जबराले तिनै पूर्वप्रधानन्यायाधीशलाई मण्डले र पार्टीका कार्यकर्ता भएको आरोप लगाए।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई भदौ २८ गते दिउँसो १ बजे बयानका लागि फेरि बोलाएको छ।
आइतबार समितिले जबरासँग २४ वटा प्रश्न सोधेको छ। योसहित समितिले ३५ वटा प्रश्न सोधिसकेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।
आफूमाथि लागेको महाभियोगबारे बयान दिन निलम्बित प्रधानन्यायाधीश जबरा आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबार पुगेका थिए।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ।
जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।