काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिको अर्थ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी छिन् ।
किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा शुक्रबार काठमाडौंमा आयोजित दुईदिने किताब जात्रा शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले समृद्धिको अर्थ केवल आर्थिक विकास मात्र नभइ ज्ञान र सभ्यताको समृद्धि पनि भएको बताएकी हुन् ।
उनले आम नागरिकसम्म अध्ययनको पहुँच पुर्याउनुपर्नेमा जोड दिइन् । यसका लागि कारागार र सार्वजनिक स्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाउनुपर्ने उनले बताइन् ।
त्यस्तै उनले कागजमा छापिएका अक्षरबाट मात्र अध्ययन नहुने र जीवनका विभिन्न आयामबाट पनि अध्ययन हुने बताइन् ।
कार्यक्रममा यस वर्षको प्रेम साहित्य सम्मान आख्यानकार गौतमलाई प्रदान गरिएको थियो । यसैगरि किताब जात्रा उत्कृष्ट बिक्री पदक संस्कृतिविद् जोशीका बारेमा लेखिएको पुस्तक ‘सत्यमोहन’ का लेखक गिरिश गिरीलाई प्रदान गरिएको थियो ।
शनिबारसम्म चल्ने जात्रामा करिब ६० प्रकाशन गृहका पुस्तक प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।