काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो गतिविधिले आशंका पैदा भएको बताएका छन् ।
समाजवादी पार्टी पुनर्गठन दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले राष्ट्रपति भण्डारीको पछिल्लो गतिविधिका बारेमा गठबन्धन बैठकमा पनि छलफल भएको र कतै अनिष्ट त हुन लागेको होइन भन्ने प्रश्न उठेको बताएका हुन्।
राष्ट्रपतिले पूर्वआर्मी चिफ बोलाएर भोजन दिने कामले शंका जन्माएको उनको भनाइ छ । उनले अहिले दरबारवाला, राजावादी शक्ति कति क्रियाशील छन् भन्नेमा हेरिरहेको जिकिर गरे।
त्यस्तै अध्यक्ष नेपालले गठबन्धन बैठकमा यसअघिको स्थानीय चूनावमा आफ्नो पार्टीको मतलाई अवमुल्यन गर्न खोजिएको र आफुहरुको ध्यानाकर्षण गराएको जानकारी दिए ।
२७ प्रतिशत सिटमा उम्मेदवारी दिँदा ९ लाख २७ हजार भोट पाएको भन्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा १५ देखि २० लाख मत पाए १५÷२० वटा सिटलाई कसैले रोक्न नसक्ने दावी गरे ।
उनले आगामी निर्वाचनमा गठबन्धनको मात्रै भर नपर्न र आफ्नो तयारीलाई पनि तीव्र पार्न नेता कार्यकर्तालाई निर्देशन दिए ।