काठमाडौं। निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट भएको छ।
बुधवार बिहान ९ बजे बालुवाटार पुगेका ओली र प्रधानमन्त्री देउवाबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो।
भेटमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल पनि उपस्थित थिए।
भेटमा एमााले अध्यक्ष ओलीले हालै संसदमा टेबुल भएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी विधेयकलाई लिएर आपत्ति जनाएका थिए। सरकारले प्रतिपक्षसँग एकपटक पनि सल्लाह नगरि विधेयक ल्याएको भन्दै ओलीले आपत्ति जनाएका थिए।
यसबाहेक राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक जस्ताको तस्तै प्रतिनिधि सभाबाट पारित हुने विषयले राष्ट्रप्रमुखको प्रतिष्ठामा आँच पुग्ने काम भएको पनि ओलीले बताएका थिए।
यस्तै आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न होस् भन्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएको बैठकमाा सहभागी एक नेताले बताए।