काठमाडौं । सत्ता गठबन्धनका नेताहरूको बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सिट बाँडफाँडकाे विषयमा छलफल हुनेछ ।
गठबन्धनले सिट बाँडफाँडबारे मंगलबार नै टुंगाेमा पुगिने बताएकाे थियाे । तर मंगलबारकाे बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बैठक बाेलाइएकाे हाे ।
मंसिर ४ काे चुनावमा एमाले विरुद्ध गठबन्धन गर्ने निर्णय गरेकाे गठबन्धनलाई सिटकाे भागबण्डा
मिलाउन भने सकस परेकाे छ । गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि शीर्ष नेता नै भागबण्डा मिलाउन जुटेका छन् ।
सिट भागबण्डा टुंगो लगाउन नसकेपछि कार्यदलले गठबन्धनका शीर्ष नेतालाई सामूहिक वा एक्लाएक्लै बसेर छलफल गर्न सुझाव दिएको छ ।
कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार सिट बाँडफाँडकाे विषयमा गठबन्धन आज निष्कर्षमा पुग्नेछ ।
गठबन्धनबीच स्थानीय तहको चुनावका साथै ०७४ को समानुपातिक मतलाई समेत सिट बाँडफाँडको मुख्य आधार बनाएर छलफल भइरहेको छ । ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।