काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर मातहतका शिक्षक तथा कर्मचारीलाई दलको आबद्धता त्याग्न निर्देशन दिएका छन् ।
उनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका हुन् ।
उनले प्रेस विज्ञप्ति निकाल्दै राजनीतिक दलसंगको आबद्धता त्याग्न निर्देशन दिए । राजनीतिक आबद्धता कायम राखेको भएमा त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न उनले निर्देशन दिएका हुन् ।
उनले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानुनी कारबाही अगाडि बढाउने नीति अख्तियार गरिने समेत शिक्षक तथा कर्मचारीलाई चेतावनी दिएका छन् ।
काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ अनुसार महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था गरेको उनले बताएका छन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) ले नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ ।