झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्।
उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए।
झापाको बिर्तामोडमा शनिबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको बताए।
परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओलीकै शब्दमा ‘त्यो सरकारले मान्छे कुट्दै हिँड्ने’ उनले दाबी गरे।
झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताए।
आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको र जतिसक्दो चाँडो सञ्चालनका लागि आफ्नो प्रयास जारी राख्ने उनले बताए।
विकास निर्माणमा इन्जिनियरहरूको योगदान अपरिहार्य रहेको र नेपालको विकासमा अझ गति दिन धेरै काम गर्नुपर्ने भएकाले त्यसका लागि जतिसक्दो योगदान दिन इन्जिनियरलाई ओलीले आग्रह गरेका छन्।