काठमाडौं। नेकपा एमालेका उपमहासचिव चुनाव घोषणा भएसँगै सरकार कामचलाउ भइसकेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कामचलाउ भइसकेकोले सरकारले संसदमा नियमित बिजनेस ल्याउन नमिल्ने बताएका हुन्।
‘निर्वाचनको घोषणा भइसकेपछि सरकार कामचलाउ भइसक्यो, कामचलाउ भइसकेको सरकारले संसदलाई बिजनेस दिन मिल्छ र सभामुख महोदय?,’ ज्ञवालीले प्रश्न गरे।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरूद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन सरकारले गरेको ढिलाइप्रति उनले आपत्ति जनाएका छन्।
‘फागुनमै महाभियोग दर्ता भयो, तीन महिनामै छिनोफानो हुनुपर्दथ्यो। समिति गठन भएको तीन महिना हो कि बिजनेस दिएपछि, यो गम्भीर प्रश्न हो,’ ज्ञवालीले भने,‘दिनभर त यो सरकार सुतेर बस्यो। अब सदनले तीन महिना पाउँछ कि पाउँदैन्?’
उनले जबराविरूद्ध राजनीतिक प्रतिशोध साध्न महाभियोग प्रस्ताव ल्याइएको दाबी पनि गरे। अमुक व्यक्तिलाई जसरी पनि निलम्बन गर्ने नियतले जबराविरूद्ध महाभियोग प्रस्ताव ल्याएको उनको भनाइ छ।
‘उनी महाभियोगको भागिदार हुन् भनेर हामीले धेरैपटक भन्यौं। महाभियोग लगायौं र छानबिन गरेर हटाऔं हामीले भनेकै हो,’ ज्ञवालीले भने,‘तर, सरकारको नियत जसरी पनि अमुक व्यक्तिलाई निलम्बन गर्नैपर्ने देखियो। यो ढंगले कतै पनि महाभियोग लगाउन मिल्दैन।’
ज्ञवालीले राजनीतिक प्रतिशोधको आधारमा महाभियोगसम्बन्धी बिजनेस सदनमा नल्याएको जिकिर गरे।
‘सरकारले राजनीतिक प्रतिशोधको आधारमा यो बिजनेस सदनमा ल्याउँदै ल्याएन। अब सदनको समय सकिने बेलामा यो बिजनेस ल्याएको छ। सरकारले नियमित सरकारजस्तो बिजनेस दिएर चलाउन हुँदैन,’ उनले भने।