काठमाडौं। निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने उल्लेख गरिएको छ।
मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका विभिन्न कारणले विवादित बनेका जबराविरुद्ध गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता भएको थियो। माओवादी केन्द्रका देव गुरूङ, कांग्रेसकी पुष्पा भुसाल र नेकपा एसका जीवनराम श्रेष्ठले प्रस्ताव गरेको महाभियोगको समर्थनमा ९८ सांसद्ले हस्ताक्षर गरेका थिए।
‘मिति २०७८ फागुन २९ गतेको बैठकमा माननीय श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने,’ प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा उल्लेख छ।
जबरामाथि महाभियोग लगाउन माग गर्दै नेपाल बार एशोसियसन, सर्वोच्च बार एसोसियसनलगायतका संस्थाहरुले तीन महिना भन्दा लामो समय धर्ना दिएका थिए। प्रतिनिधिसभाको बैठक भोलि आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ।