काठमाडौं। सत्ता गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि कार्यदल बनाएको छ।
शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सिटको भागबन्डा भदौ पहिलो सातासम्म टुंग्याउने निर्णयसमेत गरेको छ।
कार्यदलमा गठबन्धनसम्बद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी ११ सदस्य छन्। जसमा नेपाली कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा हुनेछन्। माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्न भनिएको छ ।