काठमाडौं । नेकपा (एमाले)ले नेत्रविक्रम चन्द लगायतका नेताहरूको नाममा जारी पक्राउ पुर्जी फिर्ता गर्न माग गरेको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै चन्द समहूलाई पुनः हिंसामा जान दिन नहुनेमा जोड दिएका हुन्।
पक्राउ पुर्जी यसअघि सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति विपरीत भएको भट्टराईको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका वेला २०७७ फागुनमा सरकारसँग तीनबुँदे सहमति गरेर चन्द समूह शान्ति प्रक्रियामा आएको थियो।
उक्त सहमति पालना हुनुपर्नेमा भट्टराईले जोड दिएका हुन्।
ललितपुर जिल्ला अदालतले साउन १६ गते कर्तव्य ज्यान, हातहतियार तथा खरखजाना मुद्दा, राज्य विरुद्धको अपराधमा नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढा मगर, उदयबहादुर चलाउने, नवीन विश्वकर्मा, उमा भुजेल, नन्दा विश्वकर्मा, सुदीप कुँवर, चन्द्रबहादुर बुढाथोकी, बाबुलाल पुन मगर, शंखर दमाईं, भरतबहादुर बम‚ धर्मराज बडुवाय र दमयन्तीकुमारी श्रेष्ठलगायतको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।