काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दै छ ।
रिक्त रहेको अर्थमन्त्री पदमा कसलाई पठाउने भन्नेबारे छलफल गर्न बैठक बस्न लागेको हो। यद्यपि पार्टीले आधिकारिक रुपमा भने पदाधिकारी टुंग्याउने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताएको छ।
बजेटमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफरे गराएको विषय पेचिलो बन्दै गएपछि माओवादीबाट अर्थमन्त्री रहेका जनार्दन शर्माले राजीनामा दिएका थिए।
अहिले संसदीय छानविन विशेष समितिले बजेटमा करको दर हेरफेरमा शर्माको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन बुझाएपछि माओवादीले फेरि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने वा अरु कसैलाई नै पठाउने भन्ने विषयमा छलफल गर्दैछ।
माओवादीमा पदाधिकारी टुंग्याउने विषय असहज बनिरहँदा अध्यक्ष दाहालले शर्मालाई मन्त्रालयमै पठाएर महासचिवको जिम्मेवारी अर्को व्यक्तिलाई दिन चाहेका छन्। तर पार्टीमा आरोप लागेका व्यक्तिलाई सरकार र पार्टी दुवैमा ठाउँ दिन नहुने आवाज पनि उठिरहेकाले बैठकबाटै यसको छिनोफानो गर्न लागिएको हो।
त्यसो त शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएकै दिन गत असार २२ गते संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले, शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए ।