झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट जसरी पनि पराजित गर्नुपर्ने बताएका छन्।
चार दिनका लागि बुधबार गृह जिल्ला झापा आएका एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनका पार्टीले जनविरोधी काम गरिरहेको आरोप लगाए।
उनले भने, ‘सत्ता गठबन्धनका पार्टीलाई अब चुनावबाट नै एकमुष्ठ विदा गर्नुपर्छ।’
बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको बर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए।
सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य/मान्यताविपरितका काम गरिरहेको ओलीले बताए।
देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उनको भनाइ थियो।
सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको ओलीको दाबी थियो।