काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताको स्वास्थ्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले सांसद योगेश भट्टराईले उपत्यकामा हैजा फैलिएको र मङ्कीपक्सको जोखिम हुँदा पनि सरकारले कुनै कदम नचालेको भन्दै तत्काल जनताको स्वास्थ्यप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मङ्कीपक्सलाई डब्लूएचओले अलर्ट घोषणा गरिसकेको अवस्थामा नेपालमा कुनै प्रकारको सचेतना नअपनाएको उनले बताए ।
उनले भारतमा चार जना संक्रमित भेटिसकको भन्दै खुल्ला सीमाका कारण सचेत हुनुपर्ने र नाकाहरुमा निगरानी बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै उपत्यकामा ३४ जना हैजाका बिरामी फेला पर्दा पनि सरकारले केही नगरेको आरोप लगाउँदै उनले यस बिषयमा सदनमा जानकारी गराउन माग गरे ।
अहिलेको अवस्थामा आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्नेमा सरकार निद्राको अवस्थामा रहेको उनको भनाइ छ ।