जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन् ।
आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए ।
उनले भने, ‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग कुरा भइरहेको छ । त्यसमा माधवजी (माधव नेपाल), उपेन्द्रजी (उपेन्द्र यादव), बाबुरामजी (बाबुराम भट्टराई) हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी (वामदेव गौतम) पनि मिसिनुभएको छ । हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समिति पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं ।’
यी विषयमा छलफल चलिरहेको र अहिले नै निष्कर्षमा नपुगेको उनको भनाइ छ ।