काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढ्ने औपचारिक निर्णय गरेको हो।
पार्टीलाई आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतीको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष कांग्रेसले निकालेको छ।
नेपाली कांग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागू गर्ने निर्णय पनि गरेको छ। केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताए।
बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भ्रातृ संघहरुलाई यही श्रावण मसान्तभित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ। त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रिय कार्य समितिलाई दिने निर्णय बैठकले गरेको छ।
नेपाली कांग्रेसले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति पनि गठन गरेको छ। ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रीय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताए।