काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताए।
त्यस अवसरमा उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यमबाट समाधान गर्दै अघि बढन सकिने बताए ।
अध्यक्ष दाहालले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको स्पष्ट पारे ।
Facebook Comments Box