काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
शनिबार बिहान प्रधानमन्त्री देउवालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभागको सदस्य रहेको र शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गरि छानबिन गर्न माग गरेको छ।
वाईसीएलले आर्थिक संकट र विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, विपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने वाईसीएलको माग छ।
किसानलाई समयमै मल, बिउको उपलब्ध गराउन, विद्यार्थीलाई पाठ्यसामग्रीको व्यवस्था गर्न र सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकूल परिमार्जन गरि तुरुन्त नियन्त्रण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विवादित गभर्नर महाप्रसाद अधिकारीका विषयमा कानुनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताए।