काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले आगामी चुनावमा तालमेलका लागि मापदण्ड बनाउन सुझाव दिएका छन् ।
सोमबारबाट पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा उनीहरुले चुनावमा गठबन्धनलाई निरन्रता दिदै तालमेलका लागि आवश्यक मापदण्ड बनाउन सुझाव दिएका हुन् ।
केही सभापतिले भने कांग्रेस एक्लै चुनाव लड्दा उचित हुने धारणा राखेका थिए । त्यस्तै उनीहरुले चुनावमा टिकट वितरणलाई विधि र विधानसम्मत रुपमा लागू गर्नुपर्ने बताएका थिए ।
बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचनको प्रतिवेदन पेश गरिएको छ भने भातृ तथा शुभेच्छुक संस्थाको विधान टुङ्गो लगाउने विषय र तथा सरकारको काम कारबाहीको समीक्षा हुने प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
स्थानीय तहमा केन्द्रीय सदस्यहरुको अनुभव र त्यसका आधारमा आगामी निर्वाचन गरिने रणनीतिका बारेमा बैठकमा छलफल हुने उनले बताए ।
त्यस्तै उनले उपसभामुखको टुङ्गो लागेपछि संवैधानिक परिषद् सम्बन्धी विधेयकको विवाद समाधान हुने बताए ।