काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले हालै राष्ट्रिय सभामा पेश गरेको संवैधानिक परिषद् सम्बन्धि विधेयकप्रति असन्तुष्टी जनाएका छन्।
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आज सरकारले विधेयक प्रस्तुत गरेर गल्ती गरेको समेत बताएका छन्।
‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौँ हामी?,’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी? हुन्छ कसरी? गर्छ कसले? सल्लाह दिन्छ कसले? यो दुःखद छ प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ।’
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वका सरकारमा ल्याएको विधेयकका केही शब्द हेरफेर गरेर सरकारले विधेयक राष्ट्रिय सभामा पेश गरेको छ।
ओलीले विधेयक पेश गर्दा नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यतिबेला विधेयकको विरोध गरेका थिए।
तर, अहिले देउवा आफू प्रधानमन्त्री भएपछि भने सोही विधेकय केही शब्द हेरफेर गरेर राष्ट्रिय सभामा पेश गरेका छन्, जसको उनको पार्टीकै नेताले विरोध गरेका छन्।