काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले राम्रोसँग काम नगरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले संसदमा ‘इनफ इज इनफ’ भनेका छन् ।
बेलायती संसदमा सन् १९४० मा विस्टन चर्चिलले त्यहाँको सरकारले राम्रोसँग काम नगरेपछि वाक्क भएर इनफ इज इनफ भनेको सन्दर्भ कोट्याउँदै उनले भने, ‘मिस्टर प्राइममिनिस्टर इट्स टु मच एण्ड इनफ इज इनफ ।’
आफ्नो नेतृत्वको सरकार ठीक तवरमा चलिरहेको समयमा संसदमा नेपाली कांग्रेसका सांसद गगन थापाले आफ्नो सरकारलाई ‘इनफ इज इनफ’ भनेको स्मरण गर्दै ओलीले अगाडि भने, ‘लोकतन्त्र, सुशासन, विकास र समुन्नतिको काम गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अगाडि बढेका बेला सरकारका सम्बन्धमा एकजना सांसदले ‘इनफ इज इनफ’ भन्नुभएको थियो ।’
देउवा नेतृत्वको सरकार इनफभन्दा पनि बढ्ता भइसकेको ओलीको दाबी छ । उनले भने, ‘इनफभन्दा बढी नै भैसकेपछि मैले आज बोल्न यहाँ उभिनुपर्याे, ‘इनफ इज इनफ’अबचाहिँ अति नै भयो ।’