काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका भएको अन्तर्घातको छानविन गर्न समिति बनाएको छ ।
पार्टी कार्यालय च्यासलमा आइतबार बसेको एमाले सचिवालय बैठकले स्थानीय तहमा भएको अन्तर्घातको उजुरीमाथि छानविन र आवश्यक कारवाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निणर्य गरेको हो ।
समितिका सदस्यमा देवेन्द्र दाहाल र बिष्णु रिमाल रहेका छन् । समितिलाई चूनावमा भएका अनुशासनहिनता र अन्र्तघातका बिषयमा छानविन गरि कारवाही गर्ने अधिकार दिइएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
बैठकले निर्वाचनको समिक्षा जिल्ला र प्रदेश कमिटीले असार महिनाभित्रै सकाएर केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।
त्यस्तै बैठकले सातै प्रदेश र जिल्लास्तरमा कार्यकर्ता प्रशिक्षण, निर्वाचन तयारीलगायतको काम गर्ने निणर्य गर्दै उपाध्यक्षहरुलाई प्रदेशमा खटाउने निणर्य गरेको गुरुङले बताए ।
बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निणर्यकको भण्डाफोर गर्ने निणर्य पनि भएको गुरुङले बताए ।
बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ भने चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालेको गुरुङले जानकारी दिए ।