काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा मागेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे ।
उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए ।
महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममाऽ बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे ।
उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराए ।