काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेको छ ।
शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले आफ्नो पार्टीले सिफारिस गरेका मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले मन्त्रीहरू हेरफेरको निर्णय कार्यान्वयन गर्न अब प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नपर्खने निष्कर्ष निकालेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन नगरे पार्टीले त्यसलाई अपमान सम्झने उनले बताए ।
‘आजसम्म जति प्रधानमन्त्री र प्रचण्डलाई पर्खियौँ, अब यहाँहरुलाई पर्खिने छैनौँ । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस्, नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराउन लाग्नुहोस् । पार्टीको निर्णयलाई कदर गर्नुहोस् र अब उप्रान्त पनि ढिलो गर्नुभयो भने तपाईंले हामीलाई गरेको अपमान हो भन्ने सम्झने छौँ,’ उनले भने ।