काठमाडौं। मन्त्री फिर्ता बोलाउने सम्बन्धमा पार्टीको निर्णयलाई अपरिपक्व र अनुचित भन्दै विद्रोहको प्रयास गरेका एकीकृत समाजवादीका दश सांसदमध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन्।
सरकारमा रहेका चार मन्त्रीसहित १० सांसदले हस्ताक्षरसहित पार्टी अध्यक्षलाई विहीवार ध्यानाकर्षण पत्र बुझाएका थिए। तर शुक्रबार पार्टीको पोलिट्ब्यूरो बैठकपछि अवस्था केही फेरियो। जसले गर्दा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले भने हस्ताक्षर फिर्ता गरेका हुन्।
हस्ताक्षर फिर्ता गर्नेमा आलेसहित सांसदहरु पुष्पा कर्ण, कृष्णलाल महर्जन, गोपाल बम, विनाकुमारी बुढाथोकी र धनबहादुर बुढा रहेका छन्। तर शहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा, श्रममन्त्री किसान श्रेष्ठ र सांसद निरुदेवी जैरुले भने अहिलेसम्म हस्ताक्षर फिर्ता लिएका छैनन्। यद्यपी शुक्रबारको बैठकपछि स्वास्थ्यमन्त्री खतिवडाले पनि पार्टीको निर्णय कार्यान्वन गर्ने बताएका थिए।
