काठमाडौं । न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेन प्रकरणको बिषयले सदनमासमेत प्रवेश पाएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको बिशेय समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको बिषय सार्वजनिक भएपछि नेपालको न्यायालय कस्तो छ भनेर जनताले देख्ने गरी बाहिरिनु दुःखद् भएको बताइन् ।
उनले उक्त घटनाले मुलुकको न्यायालयको अवस्था छर्लङ्ग पारेको समेत बताइन् । राज्यको कोषबाट तलबभत्ता बुझ्नेहरू सेटिङमा पैसा कमाउन लागेको उनले आरोप लगाइन् ।
आर्थिक वृद्धिलगायत विविध कारणले देश डुबिरहेको अवस्थामा त्यसको मौका छोपी सेटिङ गरेर देशका अमूक सङ्गठनमा बस्नेहरू घुसबाट धन कमाइरहेको भन्दै उनले सदनको ध्यानाकर्षण गराइन् ।
यस्ता गम्भीर विषयमा सबै सांसदहरु, सरकार र प्रतिपक्षको रूपमा विभाजित नभई सिङ्गो आवाज बन्नुपर्नेमा उनको जोड थियो ।
सांसद सांसद शेरबहादुर तामाङले आफूले संसद सचिवालयमा दर्ता गरेको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक अहिलेसम्म छलफलमा नल्याएको भन्दै आपत्ती जनाए ।
संसद नियमावली अनुसार विधेयक दर्ता भएको ४ दिनभित्र विधेयकको कपी सबै सांसदलाई दिनुपर्ने र ७ दिनपछि छलफलमा ल्याउनेपर्ने व्यवस्था रहेको र उक्त नियम आफ्नो विधेयकको हकमा किन लागू नभएको भन्दै उनले प्रश्नसमेत गरे ।