काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार भएको बेला अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई पठाएको पत्रबारे आफूलाई जानकारी नरहेको बताएका छन्।
ओली नेतृत्वको सरकारको पालामा तत्कालीन प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीले एसपीपी स्वीकार्ने गरी अमेरिकी सरकारलाई पत्र लेखेको भनिए पनि ओलीले यसबारे आफूलाई कुनै जानकारी नभएको जिकिर गरेका हुन्।
काठमाडौंमा आयोजित दुई दिने जनप्रतिनिधिको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा यसबारे धेरै प्रक्रिया अघि बढिसकेको बताए।
‘असोज ६ गते तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रक्षा मन्त्रीको हैसियतमा पत्र लेख्न भन्नुभएको रहेछ। म असोज २४ गते प्रधानमन्त्री भएँ। कात्तिकामा यसलाई अन्तिम रूप दिइएको रहेछ,’ उनले भने, ‘यसबारे मलाई थाहाँ भएन। सायद, एमालेको सरकार बन्ने जस्तो भएपछि कांग्रेस नेतृत्वको सरकारले यसलाई अघि बढाइदिएको होला।’