काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले सञ्चारक्षेत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिएको बताउँदै संघीय चुनावमा उठ्ने तयारी थालेका छन्।
विहीबार औपचारिक रुपमा ग्यालेक्सी टेलिभिजनसँगको आवद्धता टुंग्याउँदै लामिछानेले राजनीतिमा आएको बताएका छन्। उनले अब आफ्नो आवाजलाई टेलिभिजनको पर्दाबाट संसद्मा पुर्याउन चाहेको बताएका छन्।
उनले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘सञ्चार क्षेत्रमा रहेर मैले कसैको ठाँउ लिन खोजिन, बरु आफ्नो अलग्गै ठाँउ बनाउने कोशिस गरेँ। अब म आफ्नो आवाजलाई टेलिभिजनबाट संसद्मा पुर्याउन चाहन्छु।’
आफू रहरले सञ्चारकर्मी भएको तर परिस्थितिले राजनीतिज्ञ बनाएको उल्लेख गरेका छन्। उनले असार सात गते राष्ट्रियसभा गृहमा आफ्नो राजनीतिक यात्राबारे जानकारी गराउने भन्दै सबैलाई उपस्थित हुन अनुरोधसमेत गरेका छन्।
उनले भनेका छन्, ‘म रहरले संचारकर्मी भएको हुँ,तर परिस्थितिले मलाई राजनीतिज्ञ बनायो। आजबाट म पूर्णकालीन राजनीतिमा आएको छु। बाँकि असार ७ गते, १ बजे राष्ट्रिय सभागृह!’