काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले वर्तमान सरकार परराष्ट्र सम्बन्धको व्यवस्थापनमा नराम्ररी चुकेको बताएका छन् ।
अमेरिकी सेनासँग स्टेट पार्टरसिप प्रोग्राम (एसपीपी) सहकार्यको तयारीमा पुगेको भन्दै वर्तमान सरकारले नेपालको परराष्ट्र सम्बन्धमा सन्तुलन गुमाएको बताए ।
“सभामुख महोदय, मैले परराष्ट्र सम्बन्धका विषयमा यसअघि नै प्रश्न उठाएको थिएँ । त्यसयता सरकारको परराष्ट्र सम्बन्धलाई लिएर सदनमा लगातार प्रश्न उठिरहेका छन् । हिजो अमेरिकासँग स्टेट पार्टरसिप प्रोग्रामका विषयमा केही ड्राफ्ट सार्वजनिक भएको छ,” ज्ञवालीले बुधबार प्रतिनिधिसभा बैठकमा भने, “कम्तीमा पनि यो सरकार यो हदसम्म पुग्छ भन्ने कसैले पनि अनुमान गरेको थिएन ।”
उनले सरकारले गर्न खोजेका सम्झौतालाई उदाहरण दिएर प्रस्ट्याउने प्रयास गरे ।
“हामीले प्रदेश प्रहरीको परिकल्पना गरेका छौँ, कुनै देशको राष्ट्रिय आर्मीले हाम्रो प्रदेश प्रहरीसँग सम्झौता गर्छ ?,” प्रश्न गर्दै ज्ञवालीले भने, “नेपाली सेनाको यो हदसम्मको अपमान नेपाल सरकारले कुन हिसाबले परिकल्पना गर्यो ?”
उनले नेपाली सेनाका विश्वभर छुट्टै इज्जत रहेको भन्दै अहिले आएको ड्राफ्टले त्यो इज्जतमाथि धावा बोलेको बताए ।